२०७९ भदौ १ , बुधवार

विद्यार्थीको नतिजा समयमा निकाल्न त्रिविलाई शिक्षामन्त्री देवेन्द्र पौडेलको निर्देशन

सुनाखरी न्युज/ काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन् ।

 

मंगलवार अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका सहकुलपति पौडेलले यो अथवा त्यो बहाना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिएका हुन् ।‘कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौं भन्ने विद्यार्थीको गुनासो छ,’सहकुलपति पौडेलले भने, ‘नतिजा प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट वञ्चित हुने अवस्था आयो फास्ट ट्रयाकबाट नतिजा निकाल्नुस् । सामान्यतया परीक्षा भएको ३ महिनापछि नतिजा आउने भएपनि ६ महिना पुग्दासम्म विश्वविद्यालयले नतिजा निकालेको छैन ।

 

‘जनशक्ति अभाव भए सेवा आयोगलाई भनेर अस्थायी कर्मचारी ल्याएर भएपनि समयमा सेवाग्राहीको काम हुनपयो’ मन्त्रीले भने । देशकै ठूलो विश्वविद्यालयमा पुरानो प्रणाली रहेको भन्दै यसको सुधारका लागि नयाँ योजना बनाउन प्रशासनसँग मन्त्रीले आग्रह गरे । ‘मार्कसिट विद्यार्थीलाई दिने कुरालाई सिस्टममा तत्काल लैजानुस्’ मन्त्री पौडेलले भने, ‘देशको ठूलो विश्वविद्यालय नयाँ प्रविधिसँग जोडिएन भने अन्य विश्वविद्यालयले के सिक्छन् ? ।’