२०७९ श्रावण २३ , सोमवार

हुम्लामा हिमपात, अत्याधिक चिसोले सिमकोट विमानस्थल कालोपत्रे रोकियो

सुनाखरी न्युज/ काठमाडौं – हिमपातपछि बढेको अत्याधिक चिसोले हुम्ला सिमकोटस्थित विमानस्थल निर्माण प्रभावित भएको छ ।

 

 

चिसोले विमानस्थल कालोपत्रे र नयाँ एप्रोन निर्माण रोकिएको निर्माण कार्यमा संलग्न तेण्डी शेर्पाले बताए । विमानस्थलभित्रको एप्रोन निर्माण कार्य सकिएर कालोपत्रे गर्ने काम भइरहेको बेला हिमपात र चिसो बढेपछि रोक्नु परेको शेर्पाले बताए । जिल्लामा तापक्रम माइनस ११ डिग्री भन्दामाथि बढ्दै जान थालेपछि काम नहुने भएकाले बन्द गरेको नागरिक उड्डयन प्राधिकरण सिमकोट विमानस्थल निर्माण आयोजनाका साइट इन्चार्ज अजयकुमार गुप्ताले बताए ।

 

सिमकोट विमानस्थल निर्माण योजनाको ६० प्रतिशत कार्य सम्पन्न भए पनि मुख्य काम कालोपत्रे भएका कारण चिसोले गर्दा बन्द गरेको प्राधिकरणका गुप्ताले बताए । चिसोमा कालोपत्रे सेट नहुने भएका कारण अन्य काम सम्पन्न भए पनि कालोपत्र रोकेको उनले बताए ।