२०७९ श्रावण २५ , बुधवार

पेस्तोल र गोली सहित ४ जना पक्राउ

सुनाखरी न्युज/ सुनसरी – जिल्ला प्रहरी कार्यालय सुनसरीले २ थान पेस्तोल र ४ राउण्ड गोली सहित ४ जनाको समुहलाई पक्राउ गरेको छ । सुनसरीको ईनरुवा नगरपालिका क्षेत्रमा हातहतियार सहित केही ब्यक्तिहरु रहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बुधवार साझ र बिहिवार बिहान गरी ४ जनालाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेहरुमा हरिनगर गाउँपालिका -७ घुस्कीका २० बर्षीय सबिर मिया, ३१ बर्षीय सवरेज मिया, सोही स्थानका २५ बर्षीय सिकन्दर मलाहा र हरिनगर गाउँपालिका ६ का २३ वर्षिय फरियाद अन्सारी रहेका छन् । सबिर मियालाई बुधवार राती सुनसरीको महेन्द्र चोकबाट पक्राउ गरिएको थियो । मियाको साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान, गोली १ राउण्ड, र उनले प्रयोग गर्ने १ थान मोटरसाईकल सहित पक्राउ गरेको हो । यसैगरी मियाकै बयानका आधारमा अन्य ब्यक्तिहरु समेत हातहतियार सहित घुमफिर गरिरहेको भन्ने खूल्न आएसंगै तत्काल प्रहरी परिचालन भएकोमा, थप तिन जनालाई हतियार सहित पक्राउ गरिएको हो ।

 

सवरेज मिया सहित अन्य तिन जनालाई बिहिवार बिहान ईनरुवा क्षेत्रबाट १ थान पेस्तोल, तिन राउण्ड गोली, दुई थान म्यागजिन र उनीहरुले प्रयोग गरेको २ थान मोटरसाईकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । हातहतियार सहित पक्राउ परेका उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्धामा म्याद थप लिई आवश्यक कानूनी प्रकृया अघि बढाई थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।