२०७९ भदौ १ , बुधवार

बालबालिकाहरूमा ओमिक्रोनको संक्रमण बढ्दै जानु खोपमा बालबालिकाहरुको पहुँच नहुनु नै हो 

 रमेश सिलवाल – सन् २०१९ को अन्त्यमा चीनमा देखा परेको कोभिड-१९ को परिवर्तित स्वरूप ‘ओमिक्रोन’ निकै छोटो समयमा नै विश्वका अधिकांश देशमा निकै तिब्र गतिमा फैलिरहेको छ भने विश्वका अधिकांश देशमा विकराल स्वास्थ समस्या बनेर देखापरेको कुरा अवगत नै छ ।

 

नेपालमा केही दिनयता देशभर कोभिड-१९ संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ५ सय ५३ कोरोना संक्रमित थपिएका छन् । केही दिन अगाडिको स्वास्थ मन्त्रालयको तथ्यांक हेर्ने हो भने कोभिड-१९ संक्रमितको संख्या केही सयमा मात्रै सिमित थियो । स्वास्थ तथा जनसंख्या मन्त्रालयको पछिल्लो ९ दिनको तथ्यांक हेर्ने हो भने संक्रमित बालबालिकाको संख्या ७ गुणाले वृद्धि भएको देखिन्छ । गत २१ पुसमा १० वर्षभन्दा मुनिका ७ जना बालबालिकामा संक्रमण पुष्टि भएकोमा २९ पुसमा यो संख्या ४९ पुगेको छ । यसले पनि ‘ओमिक्रोन’ संक्रमणको उच्च जोखिममा बालबालिका रहेको प्रष्ट हुन्छ ।

 

बालबालिकाहरूमा कोभिड-१९ को संक्रमण बढ्दै जानुमा खोपको पहुँचमा बालबालिका नहुनु नै मुख्य कारण हो । उसो त पछिल्ला केही दिनयता कोभीड-१९ का शंकास्पद लक्षण भएका बालबालिकाको अस्पतालमा भर्ना हुने दर बढ्दै गएको तथ्यांक विभिन्न सञ्चारमाध्यमहरूमा सार्वजनिक भैरहेका छन् । यसले पनि बालबालिका संकटमा रहेको प्रष्ट हुन्छ ।

 

अब हामीले हाम्रा बालबालिकाहरूलाई कसरी सुरक्षीत राख्ने भन्ने प्रश्नले अभिभावकहरूलाई चिन्तित तुल्याएको छ । सरकारले बालबालिकाहरूलाई संक्रमणबाट जोगाउनका लागि विद्यालयहरू बन्द गर्न निर्देशन दिएको छ । तर, घरमा पनि अभिभावकले बालबालिकालाई संक्रमणबाट जोगाउनको लागि सरकारले तोकेका जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना र विशेष सावधानी अपनाउन आवश्यक छ । यो सँगै बालबालिकाले राम्रोसँग खाना नखाएमा, श्वास छिटोछिटो फेरेमा, नियमित गतिविधि (खेलकुद वा दैनिक दिनचर्यामा कम सक्रियत) नगरेमा, रुघाखोकी वा ज्वरो आएको अवस्थामा चिकित्सकको सल्लाह लिन वा नजिकैको स्वास्थ संस्थामा परिक्षण गराउन आवश्यक छ ।

 

श्वासप्रश्वासको गति तिव्र भएमा, कोखा हान्ने, बालबालिका शिथिल हुने, अक्सिजन लेबल ९३ भन्दा तल झर्ने, जिब्रोको निलो हुने जस्ता लक्षण देखिएमा भने तुरुन्तै स्वास्थ संस्थामा लैजानुपर्ने हुन्छ । बेलैमा अवस्था थाहा भएमा उपचार गर्न सहज हुन्छ । अहिलेको संकटको समयमा नआत्तिकन सचेत भएर बालबालिकाको ख्याल राख्न सक्यौं, सरकारले तोकेका स्वास्थ मापदण्डलाई पूर्ण पालना गर्न सकियो भने पक्कै पनि हामी यो स्वास्थ संकटलाई पराजित गर्न सक्छौं ।

(लेखक रमेश सिलवाल बालबालिकाको क्षेत्रमा काम गर्दै आएको चिल्ड्रेन भिजन नेपाल नामक संस्थाका अध्यक्ष हुन्)