२०७९ श्रावण ३० , सोमवार

मालवाहक सवारी साधनको आवागमन सहजीकरण गर्न नेपाल र भारत समक्ष संघको पहल,परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र

सुनाखरी न्युज/ काठमाडौं – मुलुककै दोश्रो ठूलो नाका विराटनगर–जोगबनी सीमाना जोड्ने भारतको बथनाहा स्थित मीरगंज पुल क्षतिग्रस्त भई सयौँ मालवाहक सवारी साधनहरुको आवागमन ठप्प हुन गएको प्रति मोरंग व्यापार संघको गम्भिर ध्यानाकर्षण भई तत्कालै आवागमन सहजीकरण गर्न नेपाल सहित भारतका विभिन्न निकायहरुमा संघले जोडदार पहल गर्दै ज्ञापन पत्र बुझाएको छ ।

 

विराटनगर नाकाबाट झण्डै ५ कि.मी. भारत तर्फ परमान नदी माथि अवस्थित सो मीरगंज पुल क्षतिग्रस्त भई आवागमन ठप्प हुँदा नेपाल तथा मोरङ–सुनसरी आर्थिक कोरिडोरका लागि भित्रने खाद्यान्न, दैनिक उपभोग्य वस्तु, पेट्रोलियम पदार्थ, औषधीजन्य सहित कैयौं प्रकारका सामग्री बोकेका सवारी साधनहरु सम्बन्धित गन्तव्यमा पुग्न नसकेको अवस्था छ भने आयातित माल वस्तुहरुको सुरक्षा र गुणस्तर समेत जोखिममा पर्दै गएका छन् । त्यसका साथै, आयातित मालवस्तुहरुको लागत खर्च अनपेक्षित रुपले वृद्धि हुन गएको र विराटनगर भन्सार कार्यालयबाट हुने दैनिक १५ करोड भन्दा बढिको राजस्व संकलन कार्य समेत प्रभावित हुन पुगेको छ । मुलुककै दोश्रो ठूलो मानिने सो नाका मार्फत नेपाल भित्रने मालवस्तुहरुको पारवहन अवरुद्ध हुँदा नेपालमा निकट भविष्यमै औद्योगिक÷व्यवसायिक प्रयोजनका मालसामानहरुको अभाव श्रृजना हुने र चौतर्फि रुपमा प्रभाव पर्ने निश्चित प्रायः छ ।

 

पुल क्षतिग्रस्त हुँदा गत पौष २२ गते, दिनको २ बजे देखि भारतको स्थानीय प्रशासनले सो पुल मार्फतको आवागमनमा पूर्ण रोक लगाएकोमा सो को तत्कालै निराकरण गर्न मोरंग व्यापार संघका अध्यक्ष श्री प्रकाश मून्दडाज्यू सहितको टोलीले स्थलगत निरिक्षण गर्दै गत शुक्रबार देखिनै नेपाल सहित भारतका विभिन्न निकायहरु समक्ष पत्रचार गरेको थियो । संघले नेपालका सम्माननीय प्रधानमन्त्री सहित परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भन्सार विभाग, जिल्ला प्रशासन कार्यालय र विराटनगर भन्सार कार्यालय सहित भारत तर्फ सडक परिवहन तथा राजमार्ग मन्त्रालय, नेपाल स्थिति भारतीय राजदुतावास, भारतको पटनाका भन्सार कमिश्नर, जोगबनी ल्यान्ड कस्टम्स स्टेशन, अररियाका डिष्ट्रक्ट मजिस्टे«ट र फोरबेशगंजका सब–डिभिजिनल मजिष्ट्रेट लगायतलाई पत्राचार गरिसकेको छ । त्यसैगरी आज मिति २०७८ पौष २६ गते, सोमबार मोरंग व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजाल र पूर्व अध्यक्ष महेश जाजूले नेपालका परराष्ट्र मन्त्रीलाई प्रत्यक्ष भेट गरी संघको ज्ञापन पत्र समेत बुझाउनु भएको छ ।

 

पत्र मार्फत संघले भारत सहित तेश्रो मुलुकबाट नेपाल भित्रने मालवाहक सवारी साधनहरुका लागि हाल भारतको भीमनगर–भन्टाबारी भन्सार नाका सहित अररिया जिल्लाको अररिया – कुर्सा कांटा – जोगबनी मार्गलाई वैकल्पिक मार्गको रुपमा संचालनमा ल्याउन अनुमति दिनु पर्ने, जिर्ण अवस्थाको मिरगंज पुलको तत्कालै मर्मत गर्नु पर्ने, सो पुलको समानान्तरमा अन्तिम चरणमा निर्माणाधिन नयाँ पुलको निर्माण कार्य यथाशिध्र सम्पन्न गराउनु पर्ने तथा तत्कालिक रुपले सो नयाँ पुलको एक लेन भएपनि संचालनमा ल्याउनु पर्ने आदि सुझाव एवं माग राखी मालवाहक सवारी साधनहरुको आवागमन सूचारु गर्न जोडदार पहल गर्दै आएको छ ।