२०७९ श्रावण २५ , बुधवार

ट्राफिक नियन्त्रण १४२ औं समूहको तालिम सञ्चालन

सुनाखरी न्युज/ काठमाडौं – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा ट्राफिक नियन्त्रण १४२औं समूहको तालिम सञ्चालन भएको छ ।

 

सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले महाशाखामा आइतबार आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले ट्राफिक प्रहरी कर्मचारीलाई ट्राफिक कार्यमा व्यवसायिक रुपमा दक्ष एवं ज्ञान तथा सिपयुक्त बनाउन तालिम प्रदान गरिएको बताउनुभयो ।

 

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुनिल जंग शाहले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार ६ जना र प्रहरी जवान ६२ जना गरी कुल ६८ जना प्रशिक्षार्थीहरु सहभागि रहेको जानकारी दिनुभयो । बढ्दै गईरहेको सवारी साधनको चापका कारण ट्राफिक व्यवस्थापन कार्यमा दिनानुदिन थप चुनौति आइरहेको परिप्रेक्ष्यमा त्यस्ता चुनौतीहरुलाई पहिचान गरी त्यसको निराकरणका लागि ट्राफिक प्रहरीसँग भएका सीमित श्रोत साधनहरुको उच्चतम प्रयोग गरी ट्राफिक व्यवस्थापन कार्य गर्न तालिमले सहजता ल्याउने उक्त अवसरमा जानकारी दिइयो ।

 

साथै प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रहरी संगठनले अख्तियार गरेको आर्थिक शून्य सहनशीलतालाई पालना गरी सवारी नियम उल्लङ्घन गर्ने चालकहरुले प्रलोभनमा पार्न खोज्दा प्रलोभनमा नपरी त्यस्ता क्रियाकलापमा संलग्न चालक/सहचालकहरुलाई नियन्त्रणमा लिई कानुनी कार्वाहीको दायरामा ल्याउने ८ जना प्रहरी कर्मचारीहरुलाई रेकर्डमा जनिने गरी नगद पुरस्कार तथा प्रशंसापत्र र १२ जना प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान गर्नुभयो । पुरस्कृत हुने प्रहरी कर्चारीहरुमा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हवल्दार ४ जना र प्रहरी जवान १५ जना रहेका छन् ।