२०७९ श्रावण २४ , मंगलबार

नाइजेरियामा लुटेराको आक्रमणमा २०० गाउँलेको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –  नाइजेरियामा कम्तिमा २०० जनाको हत्या भएको छ । बन्दुकधारी लुटेराहरुको समूहले पछिल्लो एक सातामा उत्तर पश्चिम नाइजेरियाको जामफारा राज्यमा हत्या गरेको स्थानीयले बताएका हुन् ।

 

राज्य सरकाले ५८ जनाको हत्या भएको जनाएको छ । मारिएका सबै जनाको सेनाले सामूहिक दाहसंस्कार गरेको छ । ‘बन्दुकधारी लुटेराको आक्रमणमा मारिएका कम्तिमा १४३ जनाको दाहसंस्कार गरेका छौै,’ एक स्थानीय नेता बलराबे अलहाजीले भने । आक्रमणमा २०० भन्दा बढीको मृत्यु भएको उनले बताए । मोटरसाइक चढेर आएका झन्डै ३०० आक्रमणकारीले १० ओटा गाउँमा हमला गरेर लुटपाट गरेको जनाइएको छ ।

 

उनीहरुले घरमै गोली प्रहार गरेर लुटपाट मच्चाएका थिए । यसैबीच, लुटपाट मच्चाउने १०० जना लुटेरा सेनाको कारबाहीमा मारिएको समाचार विवरणमा जनाइएको छ ।​ जामफारा राज्यमा यसअघि पनि लुटेराले दर्जनौं गाउँलेको हत्या गरिसकेका छन् ।   एजेन्सी