२०७९ श्रावण २९ , आइतवार

प्रदेश १ का मुख्यमन्त्री राईले दलीय भागबन्डा मिलाउन कम्तीमा ४ मन्त्रालय थप्दै

सुनाखरी न्युज / मोरङ — प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई सत्ता जोगाउन दलीय भागबन्डा मिलाउन कम्तीमा ४ मन्त्रालय थप्ने अन्तिम तयारीमा छन् । प्रदेश सरकारले मन्त्रालय संख्या बढाउन आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको नेतृत्वमा विस्तार गरेर संख्या थप्ने अन्तिम तयारीमा जुटेको बताए । कार्यदलले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित मन्त्रालयको संख्या ११ पुर्‍याउने तयारी गरेको हो ।

४ वटा मन्त्रालय थप विस्तार गर्दा मन्त्रीविहीन रहेको दुईसहित ६ वटा मन्त्रालय गठबन्धन दलले बाँडफाँट गरेर मन्त्री नियुक्त गर्ने तयारीमा जुटेको छ ।

यसअघि प्रमुख प्रतिपक्षी दल रहेको र सत्तारूढ दलको सबभन्दा ठूलो दल कांग्रेसले ४ वटा मन्त्रालयमा चित्त नबुझाए अर्को थपेर ५ वटासम्म मन्त्रालय विस्तार गर्ने कार्यदलको तयारी रहेको छ । ५ वटा मन्त्रालय थपिए प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित मन्त्रालयको संख्या १२ पुग्नेछ ।

प्रदेशमा अहिले भएको ७ वटा मन्त्रालयको चालु आर्थिक वर्षको सञ्चालन खर्च ५ अर्ब ७३ करोड ५२ लाख ७७ हजार रहेको छ । मन्त्रालय थपिँदा न्यूनतम ४ अर्ब थप व्ययभार बढ्ने एक मन्त्रालयका सचिवले बताए । नयाँ मन्त्रीका लागि सवारीसाधन, निवासका साथै अन्य सेवा सुविधा, सचिव, उनका लागि आवास, गाडीलगायतका सेवा सुविधामा पनि व्ययभार बढ्नेछ ।

मुख्यमन्त्री राईले मन्त्रालयका कार्यक्षेत्र मिलाएर संख्या विस्तार गर्ने तयारी गरेको बताए । ‘मन्त्रालयको संख्या बढाउँदा व्ययभार र भौतिक संरचनाको कुरा आउँछन्,’ उनले भने, ‘त्यसका लागि कार्यदलले अध्ययन गरेर स्रोत जुटाउने अन्तिम तयारीमा छन् ।’ एउटै मन्त्रालयमा धेरै कार्यक्षेत्र रहेकाले समयमा काम नहुने, योजनामा मन्त्रीको ध्यान नपुग्ने, आर्थिक अनियमितता जस्ता समस्या रहेकाले संख्या बढाउनुको विकल्प नभएको राईले बताए ।