२०७९ श्रावण २७ , शुक्रवार

उपत्यकाबाट चोरिएका २६ वटा मोटरसाइकल धनीलाई हस्तान्तरण

सुनाखरी न्युज/ काठमाडौं – काठमाडौं उपत्यकाबाट चोरी भएका २६ वटा मोटरसाइकल ट्राफिक प्रहरीले खोजेर सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी जनक भट्टराईले बिहिबार ती मोटरसाइकल सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । १७ वटा मोटरसाइकल र ९ वटा स्कुटर धनीहरुलाई जिम्मा लगाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । पशुपतिनाथ क्षेत्र, बौद्ध, नरेफाँट, ठिमी, सूर्यविनायक, बसुन्धारा, बानेश्वर, चावहिल, ठमेल, कीर्तिपुर, सातदोबाटो र कलंकीबाट हराएका मोटरसाइकल प्रहरीको अनुसन्धानबाट पत्ता लागेको थियो ।

 

ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता इकाइले हराएका मोटरसाइकलबारे अनुसन्धान गर्छन् । महाशाखाले सुरक्षित ठाउँमा र सुरक्षित तरिकाले मात्र मोटरसाइकल राख्न र अलर्ट सिस्टमको प्रयोग गर्न सवारी प्रयोगकर्तालाई आग्रह गरेको छ । २०७८ साउनपछि महाशाखाले हराएका २ सय २३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । मोटरसाइकल चोरीमा संलग्न ३२ जनालाई कारवाहीका लागी स्थानीय प्रहरीको जिम्मा लगाइएको महाशाखाले जनाएको छ ।