२०७९ भदौ १ , बुधवार

जब १० हजार मौरीले पनि प्रदर्शनमा भाग लिए, ७ प्रहरी घाइते

सुनाखरी न्युज/ काठमाडौं – चिलीको स्यान्डियागोस्थित राष्ट्रपति भवन अगाडि प्रदर्शन गर्ने चारजना मौरीपालक किसानलाई प्रहरीले पक्राउ गरेको छ ।

 

 

प्रदर्शनका क्रममा मौरीको टोकाइबाट ७ जना प्रहरी अधिकारी पनि घाइते भएका छन् । लामो खडेरीका कारण चिलीका मौरीपालक किसान मारमा परेका छन् । चिलीमा खडेरी कुनै नौलो नभए पनि सन् २०१० यताकै सबैभन्दा खराब खडेरीका कारण मौरीको खानाको स्रोत मासिन थालेका छन् । किसानहरूले सरकारसँग महको मूल्य समायोजन गर्नुका साथै राहतको माग गरेका छन् । उनीहरूले राष्ट्रपति सबास्टियन पिनेरासँग भेटको माग गरेका छन् । प्रदर्शनका क्रममा मौरीपालक किसानले ६० वटा मौरीको घार साथमा लिएर आएका थिए ।

 

त्यसमा करिब १० हजार मौरी रहेको बताइएको छ । प्रहरीहरूले सो घारलाई हटाउँदा ७ जनालाई मौरीले टोकेको बताइएको छ । उनीहरूलाई अस्पताल लगिएको थियो । जलवायु परिवर्तनले मौरीको जनसङ्ख्या कम हुँदै गएको पाइएको छ । सन् २०२० मा गरिएको एक अध्ययनले उत्तर अमेरिकामा मौरीको सङ्ख्या ५० प्रतिशत तथा युरोपमा १७ प्रतिशतले कम भएको देखाएको थियो ।   एजेन्सी