२०७९ श्रावण २७ , शुक्रवार

माघ १२ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी

सुनाखरी न्युज/ काठमाडौं – आगामी माघ १२ गते राष्ट्रिय सभाका रिक्त १९ पदका लागि हुने निर्वाचनमा ४३ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। उम्मेदवारी दर्ता गर्न निर्वाचन आयोगले दिएको मंगलबारसम्मको अवधिमा विभिन्न ९ दलका ४३ जनाले राष्ट्रिय सभाका रिक्त १९ पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

 

मंगलबार उम्मेदवारी दर्ता भएसँगै भोलि बुधबार (पुस २१ गते) उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका रहेको छ । यसका लागि बिहान १० बजेदेखि ४ बजेसम्मको समय छुट्याइएको छ। २२ र २३ गते उजुरीउपर छानबिन हुने र २३ गते नै उम्मेदवारको नाम प्रकाशन हुने कार्यतालिका रहेको छ । साथै, २४ गते उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिनको लागि समय दिइएको छ। २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेसँगै निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ ।

 

मंगलबार सातै प्रदेशबाट ४३ जनाले उम्मेदवारी दर्ता गराएकोमध्ये नेकपा (एमाले) बाट १९ जना, नेपाली कांग्रेसबाट ६ जना, नेकपा (माओवादी केन्द्र) बाट ५ जना, नेकपा (एकीकृत समाजवादी) बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना रहेका छन् । यस्तै, अन्य साना दल राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना, नेपाल मजदूर किसान पार्टीबाट २ जना, लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।