२०७९ श्रावण २८ , शनिवार

३३ वर्षअघि अपहरणमा परे, १८०० किमी टाढा बेचिए : सम्झिएको भरमा गाउँको नक्सा बनाए, अन्ततः आमालाई भेटे

सुनाखरी न्युज/ काठमाडौं – ३३ वर्ष अघि बालखकालमा अपहरणमा परेका केटा आफ्नी आमा भएको ठाउँमा पुनः पुगेका छन् ।

 

उनले आफ्नो स्मरण शक्तिका आधारमा गाउँको नक्सा बनाए र त्यसलाई सोशल मीडियामा साझा गरेकाले यो सम्भव भएको हो । यहि नक्साको आधारमा उनी दोस्रो पटक आफ्नो परिवारसँग भेट्न सफल भएका छन् । घटना चीनको हो । त्यहाँ सन् १९८९ मा हेनान प्रान्तमा ४ वर्षका जिंगवेईलाई छिमेकका एक व्यक्तिले मानव व्यापारका लागि अपहरण गरेका थिए ।१८०० किमी टाढा गएर गुआंगडोंग प्रान्तमा लीलाई एक दम्पत्तिलाई बिक्री गरिदिएका थिए । यसपछि परिवार र गाउँसँग लीको सम्पर्क टुटेको थियो ।

 

वर्षौँ बित्यो, तर लीको आफ्नो परिवारप्रतिको लगाव भने मेटिएन । उनले कयौँ पटक आफ्ना ती अभिभावकसँग गाउँ लगेर आफ्ना सक्कली आमासँग भेटाइदिन अनुरोध नगरेका पनि होइनन् । लीको प्रयासका बावजुद उनलाई किनेका अभिभावक टस न मस भए । त्यसपछि लीले आफ्नो स्मरण शक्तिमा जोड दिए र नक्सा तयार पारे । नक्सा उनको गाउँको संरचनासँग मेल खान्थ्यो । कसैले उनलाई इन्टरनेटको सहयोगबाट आफ्नी आमा र गाउँ खोज्न सल्लाह दिए । यसपछि लीले उक्त नक्सा डिसेम्बर २४ तारिखमा इन्टरनेटमा अपलोड गरे । साथै, उनले बालबालिकाको ओसार पसारको शिकार भएको कहानी पनि नक्सामै अट्याच गरे । जसमा उनले लेखेका थिए, ‘म आफ्नो घर खोजिरहेको एउटा छोरा हुँ ।

 

सन् १९८९ मा एकजना तालु खुइले छिमेकीले मलाई हेनान लगे । त्यतिबेला म चार वर्षको थिएँ,’ उनले भिडियोमा भने । उक्त भिडियो हज्जारौं पटक सेयर भएको थियो । ‘यो नक्सा मेरो घर वरिपरिको क्षेत्रको हो जुन मैले आफ्नो स्मरणको आधारमा बनाएको छु,’ उनले सरसर्ती बनाएको नक्सामा एउटा भवन बनाएका छन् जसलाई उनले विद्यालय भएको अनुमान गरेका छन्, एउटा बाँसको जंगल र सानो पोखरी छ । प्रहरीले पनि एउटा सानो गाउँकी एक महिलाको छोरा हराएको घटनाबारे अनुसन्धान गर्यो ।

 

डिएनए परीक्षणपश्चात् यी दुईको युनान प्रान्तमा गत शनिबार पुनर्मिलन भयो । पुनर्मिलनको भिडियोमा देखिए अनुसार यी दुईले ३ दशकपछि एक अर्कालाई भेट्दा लि जिंगवेई निकै सतर्कताका साथ आमाले लगाइरहेको मास्क खोले र उनको अनुहार नियाले त्यसपछि आमालाई अँगालो हालेर बेस्सरी रोए । ‘३३ वर्षको प्रतीक्षा, अनेकौँ अनिँदो रात र सम्झिँदै हातले कोरेको नक्सा । १३ दिनपछिको यो निकै उत्कृष्ट समय,’ लीले आफ्नो डोउविन प्रोफाइलमा लेखेका छन् । ‘परिवारसँग पुनः भेट गराउन सहयोग गर्ने सबैलाई मुरीमुरी धन्यवाद ।’  एजेन्सी