२०७९ श्रावण ३० , सोमवार

छोरेपाटन माविको ४३ औं बार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न

सुनाखरी न्युज/पोखरा – पोखरा १७ छोरेपाटनमा रहेको पोखरा र पश्चिमाञ्चलकै अग्रणी शैक्षिक संस्था छोरेपाटन माध्यमिक बिद्यालयको ४३ औं बार्षिकोत्सव एवं अभिभावक दिवस समारोह शनिबार सम्पन्न भएको छ ।

 

समारोहको उद्घाटन गर्दै संघीय सांसद एवं कास्की जिल्ला क्षेत्र नं २ की प्रतिनिधिसभा सदस्य विद्या भट्टराई अधिकारीले बिद्यालयले पोखराको शैक्षिक उन्नयनमा खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै थप ब्यवहारिक शिक्षामा जोड दिनुपर्ने आवश्यकता औंल्याउनुका साथै बिद्यालयले भविष्यमा गर्ने प्राविधिक बिषयहरुको छनौट र अध्यापनमा आवश्यक सहयोग गर्ने पनि अधिकारीले प्रतिवद्धता जनाउनु भएको छ ।

 

बिशेष अतिथि गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा, आमन्त्रित अतिथिहरु विजयराज आचार्य, सालिकराम देवकोटा, देवराज आचार्य, ऋषभ तिमिला, सोमनाथ भण्डारी, तीर्थराज ढकाल, रमेश भट्टराइ, विद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष श्रीराम सुवेदी, क्या. खड्गबहादुर शाही, शिक्षक अभिभावक संघका अध्यक्ष रविलाल शर्मा, पोखरा महानगरपालिका वडा नं १७ का वडाध्यक्ष तीर्थराज अधिकारी, पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य र राष्ट्रिय परिक्षा बोर्डका प्रमुख विष्णु नारायण श्रेष्ठ लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

 

कार्यक्रममा प्रधानाध्यापक डिल्लीराम शर्माले विद्यालयको बार्षिक प्रगति प्रतिवेदन र लेखा अधिकृत छविलाल पनेरुले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल स्काउटका छात्रछात्राहरुले आकर्षक पिटी र मार्च पास प्रदर्शन गरेका थिए भने बिद्यार्थीहरुकै सक्रियतामा बिज्ञान प्रदर्शनी, रचनात्मक सांस्कृतिक कार्यक्रमसहित चेतनामूलक नाटक प्रदर्शन गरिएको थियो । अक्षयकोश दाताहरुबाट विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको कार्यक्रममा शंकर वराल र उहाँकी आमा देवीमाया वरालले ५५ हजार ५ सय ५५ तथा विद्यालयका पुर्व प्रचार्य प्रा.डा. टंकराज अधिकारीले ५० हजार ५ सय ५५ रुपैयाको अक्षयकोश स्थापना गरेका छन् ।

 

त्यसैगरी कक्षा १२ को वोर्ड परिक्षामा शतप्रतिशत बिद्यार्थी उत्तीर्ण गराउने शिक्षकहरु रोहित बराल, छविकुमार श्रेष्ठ, एकनारायण भण्डारी, हरि केसी, उपेन्द्रराज पोखरेल, गिरीधारी पोखरेल, प्रेमराज गौतम, सागर बराल, ओम बानिया, माधब भट्टराई, लक्ष्मण पौडेल, ठाकुर प्रसाद पोखरेल र मेघनाथ पौडेललाई सम्मान गरिएको थियो ।  साथै दीर्घ सेवा पदकबाट टीका क्षेत्री र माधव पहारी तथा विभिन्न तहमा अध्यापनरत शिक्षक एवं शिक्षिकाहरु पवित्रा अधिकारी, जानुका पौडेल, दुर्गा भण्डारी, दिब्यश्वरी रेग्मी, लिलानाथ आचार्य, रोहित बराल र माधब भट्टराइ, कर्मचारीतर्फ अप्सरा रेग्मी र टिकाराम सुवेदीलाई समेत सम्मान गरिएको थियो ।

 

बिद्यालयका सहायक प्रधानाध्यापक खेमराज बरालले स्वागत मन्तव्य ब्यक्त गरेको कार्यक्रममा बिद्यार्थीहरु अञ्जना सुवेदी, संगम लंसालले वोलेका थिए । बिद्यालय  ब्यवस्थापन समितिका अध्यक्ष झपिन्द्रराज रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बिद्यालयका सहायक प्रधानाध्यापक मेघनाथ पौडेलले गरेका थिए ।