२०७९ श्रावण २७ , शुक्रवार

क्यान र खेलाडीहरु बीच सहमति

सुनाखरी न्युज/ काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)को कारबाहीमा परेका खेलाडीहरू बन्द प्रशिक्षण हलमा पुगेका छन् । आइतबार पूर्व कप्तान ज्ञानेन्द्र मल्लसँग क्यानले कप्तान परिवर्तन बाहेकको निर्णय फिर्ता लिने सहमति गरेपछि खेलाडीहरु सोमबार बिहान त्रिवि क्रिकेट मैदान पुगेका हुन ।

 

क्यानले आजैबाट टी–२० विश्वकप क्वालिफायरको बन्द प्रशिक्षण सुरु गरेको छ । क्यान सचिव प्रशान्त विक्रम मल्लका अनुसार १० बजेसम्म २० जना खेलाडीहरू बन्द प्रशिक्षणका लागि पुगेका छन् । यसअघि १७ जना खेलाडीहरू मात्रै आएकोमा आज ४ खेलाडी थपिएका हुन् । ९ जना खेलाडी अझै मैदानमा अनुपस्थित छन् । सबै खेलाडी सहभागी हुने सहमति भए पनि पीसीआर परीक्षण बाँकी रहेकाले पूर्वकप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, कमलसिंह ऐरीलगायत ९ खेलाडी भने आज उपस्थित भएका छैनन् ।

 

आज (सोमबार) कोरोना परीक्षण गर्ने र रिपोर्ट नेगेटिभ आए भोलि मंगलबादेखि उनीहरू पनि सहभागी हुने क्यानले जनाएको छ । सहमतिअनुसार पूर्वकप्तान ज्ञानेन्द्र मल्लसहित चार खेलाडीविरुद्ध सेन्ट्रल कन्ट्रयाक्टमा लगाइएको ६ महिने प्रतिबन्ध पनि फुकुवा भएको छ । यसअघि क्यानले अनुशासन उलंघन गरेको आरोपमा तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीविरुद्ध कारबाही गरेको थियो ।  बन्द प्रशिक्षणमा बोलाइएकामध्ये आधा खेलाडी सम्पर्कमा नआएपछि यो प्रकरण मिलाउन क्यानलाई दबाब परेको थियो । यहीबीच आइतबार दुई पक्षबीच सहमति भएको हो । योसँगै बन्द प्रशिक्षण पनि अघि बढेको हो । कप्तान सन्दीप लामिछाने भने अहिले अष्ट्रेलियामा नै छन् ।