२०७९ मंसिर १४ , बुधवार

जहाजमा उड्दा-उड्दै कोरोना भएको थाहा पाएपछि उनले शौचालयमा बिताइन् पाँच घन्टा

सुनाखरी न्युज/ अमेरिकामा एक महिलाले कोरोनाभाइरसको संक्रमण भएपछि जहाजको शौचालयमा पाँच घन्टा बिताएकी छन्।

द गार्डियनका अनुसार गत डिसेम्बर २० मा मारिसा फोतिओ सिकागोबाट आइसल्यान्ड जाने जहाज चढेकी थिइन्। जहाजमा यात्रा गर्नुअघि उनले दुई पटक परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको थियो। जहाजमा उडिरहेको बेला उनको घाँटी दुख्यो। अप्ठेरो भएपछि उनी जहाजको शौचालयमा गइन्। उनीसँग र्‍यापिड टेस्ट किट थियो। त्यसले कोरोना परीक्षण गरिन्। रिपोर्ट पोजेटिभ आयो। त्यसपछि उनी शौचालयमै बसिन्।

 

मारिसाले टिकटकमा राखेको भिडिओमा उनले अरू यात्रुलाई संक्रमण नफैलियोस् भनेर आफू शौचालयमा आइसोलेसनमा बसेको बताएकी छन्। टिकटकमा उनले राखेको भिडिओ ४४ लाख पटक हेरिएको छ। उनले आफ्नो जानकारीबारे एयर होस्टेसलाई पनि जानकारी गराइन्। उनीहरूले आफ्नो राम्रो ख्याल गरेको मारिसाको भनाइ छ। आइसल्यान्ड पुगेपछि मारिसा अहिले होटल क्वारेन्टिनमा बसेकी छन्।  एजेन्सी