२०७९ श्रावण २७ , शुक्रवार

रुकुम पुर्वमा ६ हजार बालबालिकाले लगाए मोडर्ना खोप

सुनाखरी न्युज/ रुकुम – रुकुम(पूर्व) मा ६ हजारभन्दा बढी बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका छन् । जिल्लामा खोप अभियान सुरु भएयता अहिलेसम्मको अवधिमा १२ वर्षभन्दा माथि र १८ वर्षमुनिका ६ हजार २१६ बालबालिकाले कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाएका हुन्।

जिल्लाका विभिन्न विद्यालयमा सञ्चालन गरिएको अभियान र स्वास्थ्य कार्यालयबाट बालबालिकालाई खोप लगाइएको स्वास्थ्य कार्यालय रुकुम (पूर्व)का कोरोना रोग नियन्त्रण फोकल पर्सन नीमप्रसाद गिरीले जानकारी दिए। सोमा सिस्ने गाउँपालिकाका दुई हजार ४५०, भूमे गाउँपालिकाका दुई हजार ५४ बालबालिकाले मोडर्ना खोपको पहिलो मात्रा लगाएका हुन्। पुथाउत्तरगङ्गा गाउँपालिकाका एक हजार ७१२ बालबालिकाले मोडर्नाको खोप लगाएको फोकल पर्सन गिरीले बताए।

 

उनका अनुसार जिल्लामा यही पुस ६ देखि १० गतेसम्म सिस्ने र भूमे गाउँपालिकाका विद्यालयमा खोप अभियान चलाइएको थियो भने १० गतेदेखि १४ गतेसम्म पुथाउत्तरगङ्गा गाउँपालिकाको विद्यालयमा खोप अभियान चलाइएको थियो। स्वास्थ्य कार्यालयबाट अहिले पनि मोडर्ना खोप लगाउने कार्यक्रम चलिरहेको छ।