२०७९ श्रावण २३ , सोमवार

नबिलमा बंगलादेश बैंक गाभिने, दुबैले बनाए मर्जर समिति

bank

सुनाखरी न्युज/ काठमाडौं ।
नबिल बैंकले नेपाल बंगलादेशलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ । यसकालागि  औपचारिक रुपमा प्रक्रिया अघि बढेको छ । दुबै बैंकले अनौपचारिक रुपमा सहमति गरेर आ–आफ्नो तर्फबाट प्रक्रिया अघि बढाइसकेका छन् । जसअनुसार दुबै बैंकले मर्जर समिति गठन गरिसकेका छन् ।

नबिल बैंकले बुधबार र बंगलादेश बैंकले बिहीबार मर्जर समिति गठन गरेका हुन् । नबिल बैंकले सञ्चालक उदयकृष्ण उपाध्यायको संयोजकत्वमा यसअघि गठन भएको मर्जर समितिलाई नै उक्त जिम्मेवारी दिएको छ । ‘हामी अहिले मर्जरको पक्षमा नभएर एक्विजिसनका लागि अघि बढेका हौं,’ नबिल बैंक स्रोतले भन्यो, ‘हेर्दै जाउ प्रक्रिया कहाँसम्म पुग्छ ।’

यी बैंकबीच धेरै पहिलेदेखि नै प्राप्तिको हल्ला चलेको हो । यद्यपि सेयर मिलान अनुपात (स्वाप) लगायत विषयमा कुरा मिलिसकेको थिएन । अहिले ती विषयमा कुरा मिलिसकेकाले औपचारिक रुपमा दुबै संस्थाले प्रक्रिया अघि बढाएका हुन् । स्रोतका अनुसार नेपाल बंगलादेश बैंकको प्रमुख सेयरधनी बंगलादेशको आईएफआईसी बैंकले उक्त सेयर बिक्री गरेर बाहिरिन लागेको छ । आईएफआईसीले बिक्री गर्ने र बाँकी केही सेयर पनि खरिद गरेर नबिल बैंकले बंगलादेशलाई प्राप्ति गर्न लागेको स्रोतले बताएको छ ।

‘आजसम्मको समझदारी अनुसार एक साताभित्रै सहमतिपत्रमा हस्ताक्षर (एमओयू) गर्ने योजना छ,’ स्रोतले भन्यो, ‘स्वाप रेसियोबारेमा एक हदसम्म सहमति भएको छ । तर, अन्तिम टुङ्गो समग्र सम्पत्ति तथा दायित्व अध्ययन (डीडीए) गरेपछि मात्र लाग्ला ।’

यसअघि नबिल बैंकले चौधरी ग्रुपको लगानी रहेको युनाटइटेड फाइनान्सलाई प्राप्ति गरेको थियो । युनाइटेडलाई नबिल बैंकले ३५ रुपैयाँ स्वाप रेसियोमा आधारमा प्राप्ति गरेको हो ।