२०७९ श्रावण २३ , सोमवार

हट्न थाल्यो न्यूनचापीय प्रणालीको प्रभाव, मौसममा क्रमिक सुधार

weather

सुनाखरी न्युज/ काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले विगत केही दिनदेखि प्रभावित मौसममा क्रमिक रुपमा सुधार देखिएको छ। उक्त प्रणाली आजदेखि पश्चिमी भूभागबाट बिस्तारै बाहिरने क्रममा रहेकाले मौसममा सुधार हुने भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 

देशमा पश्चिमी न्यूनचापीय प्रणाली र भारतको बिहार आसपासमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको थियो। हाल देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानामा हल्का हिमपात भइरहेको छ। आज राति देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना छ।

 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ६ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम आठ दशमलव एक डिग्री सेल्सियस रहेको छ। त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव चार डिग्री र सबैभन्दा धेरै भैरहवाको अधिकतम तापक्रम २२ दशमलव एक डिग्री सेल्सियस रहेको छ।