२०७९ श्रावण २७ , शुक्रवार

भक्तपुरमा कार दुर्घटना हुँदा २२ वर्षीय युवकको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं – अरनिको राजमार्ग खण्डमा पर्ने मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोस्थित कार दुर्घटना हुँदा कारमा सवार एक युवकको मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौँ आउँदै गरेको कार डिभाइडरमा ठोक्किएदा काठमाडौँ शान्तिनगर बस्ने २२ वर्षीय अभिषेक शाहको मृत्यु भएको हो ।

 

तीव्र गतिमा गुडिरहेको कार दुर्घटना लगत्तै मृत्यु हुने शाह सहित घाइते भएका तीनै जानलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो । शाहको उपचारकै क्रममा मृत्यु भएको हो । शाहको स्थायी घर भने धनुषा उपमहानगरपालिका–१५ रहेको प्रहरीले जनाएको छ । कारको दुर्घटनाबाट अर्काे गुडिरहेको ट्याक्सीमा सवार एक यात्रु पनि घाइते भएका थिए ।

 

बा ४ च ५७६ नम्बरको कार चालक सिन्धुली कमलामाई नगरपालिका–१२ का २५ वर्षीय सविन घिसिङ रहेको र घाइते घिसिङको अवस्था गम्भर रहेको मध्यपुर अस्पतालले जानकारी दिएको छ । कारको ठक्करबाट घाइते भएका ट्याक्सी चालक ३२ वर्षीय भीमसेन खत्री भने उपचारपछि राति नै घर फर्किसकेको छ । खत्री रामेछापको मन्थली नगरपालिका–१२ घर भई हाल ललितपुर बस्दै आएका थिए ।